काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मुख्य सहयोगमा बनेको आठ दलीय गठबन्धन सरकारप्रति स्वयं सत्ता गठबन्धकै संस्थापनइतर समूह सधैँ असन्तुिष्टमै अलमलिएको छ।
गत आम निर्वाचनअघि नै चुनावी गठबन्धन गर्न नहुने एजेन्डा बोकेको कांग्रेस संस्थापनइतर समूहसँगै पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को संस्थापनइतर समूहसमेत सरकारप्रति असन्तुष्ट बनेको छ।
कांग्रेसको एउटा समूह माओवादी वा अरू कसैसँग चुनावी तालमेल गर्न नहुने विचारमा अडिग छ। सोही आधारमा गत सोमबारबाट चलेको कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाले चुनावी गठबन्धनको विपक्षमा सांगठनिक प्रस्ताव नै पेस गरेर उक्त विषयमा बहस चलाएका छन् ।
कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रतिवेदनको विपक्षमा बलियो मत देखिएको छ । महामन्त्री थापा आगामी कुनै पनि निर्वाचन आफ्नै बलमा भिड्ने एजेन्डा पारित गरेर जाने अडानमा छन् ।
तर, उनको प्रस्तावले वर्तमान गठबन्धन नै संकटमा पर्न सक्ने भन्दै अधिकांश महासमिति सदस्यहरूले विपक्षमा विचार राख्दै आएका छन् ।
उता, कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार पूर्ण असफल भएको टिप्पणी प्रत्येक दिन दोहोर्याउँदै आएका छन् भने गठबन्धन सरकारमा कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको भन्दै कांग्रेसकै अधिकांश नेताहरूले सरकारका मन्त्रीप्रति आक्रोशित छन्।
कांग्रेसको संस्थापनइतर समूहका नेताहरूले गठबन्धन संस्कृति र वर्तमान सरकारको चर्को आलोचना गरिरहेकै अवस्थामा अर्को सत्ता सहयात्री दल नेकपा एसका सम्मानित नेता झलनाथ खनालले समेत गठबन्धन सरकारका कामकारबाहीका विषयमा टिप्पणी गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट
Leave a Reply