कालिकोट। नरहरिनाथ गाउँपालिका– ७ माल्कोट उच्छवको दुदुली खोलाले बगाउँदा एकैपरिवारका चारजनाको मृत्यु भएको छ ।
शनिबार बेलुका खोला तर्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ ताम्कोटकी ३३ वर्षीया देवा बोहरा, उनका छोराछोरी १४ वर्षीया विपना, सात वर्षीय हेमन्त र एक वर्षीया आकृतिको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बाँस्तोलाले बताए । उनी कालिकोटको नरहरिनाथ गाउँपालिका– ७ माल्कोट माइतीघर आएकी थिइन् । त्यहाँबाट फर्किने क्रममा खोलामा बगेको प्रवक्ता बाँस्तोलाले बताए ।
अहिलेसम्म कालिकोटमा बाढीपहिरोबाट ३६ जनाको मृत्यु भएको भने १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार नरहरिनाथ गाउँपालिकामा १६, महाबैमा आठ, रास्कोटमा सात, सान्नीत्रिवेणीमा दुई, पलाता, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ ।
त्यस्तै, पहिरोले घर भत्किँदा हुम्लाको ताजकोट गाउँपालिकामा तीन सय परिवार विस्थापित भएका छन् । लगातारको वर्षाले ताजाँकोट गाउँपालिका वडा नं। २, ३ र ४ का बासिन्दा विस्थापित भएका हुन् । नयाँ पत्रिकबाट
Leave a Reply