काठमाडौं । बिहीबार राति दाङको घोराहीमा प्रहरी नै रहेकी आफ्नी पत्नीलाई गोली हानी हत्या गर्ने पति हाल हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीको दामोदर चोकमा डिउटीमै रहेका बेला प्रहरी जवान अर्थात पत्नी धनमाया थापामगरलाई सहायक हवल्दारसमेत रहेका श्रीमान् यामबहादुर झाँक्रीले बिहीबार बेलुका गोली हानेर हत्या गरेका थिए ।
सोही कारण उनी प्रहरी हिरासतमा पुगेका हुन् । ड्युटीमा खटिएकी श्रीमतीलाई पतिले नै गोली प्रहार गरेको पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । श्रीमान–श्रीमतीबीचको सम्बन्धको खटपटका कारण घटना भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान हुन बाँकी रहेको दाङ प्रहरी बताउँछ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ विद्यापुरकी २६ वर्षीया प्रहरी जवान थापामाथि उनका पति यामबहादुरले गोली प्रहार गरेका थिए । गोली धनमायाको छाती र कोखामा लगोको थियो । प्यूठानको नौंबहिनी गाउँपालिका– ४ खबाङ घर भएका झाँक्रीको नेपाल प्रहरी आवासी माध्यमिक विद्यालय घोराही दाङमा दरबन्दी रहेको खुलेको छ ।
उनी कर्णाली प्रदेश तालिम केन्द्रअन्तर्गत् नेपालगञ्जमा काजमा थिए । ड्युटीमा रहेकी श्रीमतीमाथि गोली चलाएपछि उनी आफैंले चलाएर आएको भे १२ प १५५० नम्बरको मोटरसाइकलमै भागेका थिए । तर उनाई लमही वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यामबहादुरको साथबाट पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार यामबहादुरलाई तालिम केन्द्र सुर्खेत खटाइए पनि उनी नेपालगञ्जका प्रहरी वरिष्ठ उपरीक्षकका बडिगार्ड थिए ।
यामबहादुरले फागुन २ गतेदेखि लागु हुने गरी चार दिनको बिदा लिएको पनि बुझिएको छ । यामबहादुर बुधबार नै दाङ आएको अनुसन्धानबाट खुलेको छ। बिदा बस्दा सुरक्षाकर्मीले आफूले बोक्ने हतियार बुझाउनुपर्ने हुन्छ।
तर यामबहादुर आफूले बोक्ने हतियार लिएर आएको खुलेको छ । प्रहरी अधिकारीका अनुसार यामबहादुरले केहीबेर धनमायासँग कुरा पनि गरेका थिए।
तर धनमायाले आफू म ड्युटीमा छु, अहिले कुरा गर्दिनँ भनेपछि यामबहादुरले बेवास्ता गरेको महसुस गरेको र आवेशमा आइ गोली प्रहार गरेको बताइएको छ ।
प्रहरी अधिकारीका अनुसार श्रीमान–श्रीमतीबीच विगत केही समययता सम्बन्ध सुमधुर थिएन । माघ महिनामै धनमायाले जिल्ला अदालत दाङमा अंशसहित सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन् । सोही कारणले हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
धनमाया र यामबहादुरले २०७४ सालमा बिहे गरेका थिए । उनीहरूबाट ६ वर्षीया एक छोरी पनि छन् । छोरी सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ विद्यापुरस्थित मामाको घरमा बस्दै आएकी छन्।
Leave a Reply