काठमाडौं । वैदेशिक रोजगारीमा कतार जानका लागि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले मंगलबारदेखि कतारको लागि श्रम स्वीकृति बन्द गरिएको जानकारी दिए ।
कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै नेपाल सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारले सावधानीसहित जोखिममा रहेको नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक लगाएको हो। कतारको सोही निर्णयपछि हाललाई कतार जान चाहने नेपालीका लागि श्रम स्वीकृति दिन बन्द गरिएको दाहालको भनाइ छ ।
उनले अवस्था सहज हुनेबित्तिकै पुनः श्रम स्वीकृति दिन सुरु गरिने जानकारी दिए । हाल कतार जानका लागि दैनिक ४०० जना कामदारले श्रम स्वीकृति लिँदै आएका छन् । नेपालमा कोरोनाको संक्रमण कसैलाई नदेखिएको भएपनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको सूचीमा राखेको छ । पछिल्लो दुई दिनको अवधिमा संयुक्त अरब इमिरेट्स र अस्ष्ट्रेलियामा भने ३ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ ।
नेपालको पहिलो श्रम गन्तव्य मुलुकका रुपमा रहेको कतारले नेपालीहरुलाई यात्रामा प्रतिबन्धको घोषणा गरेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका चार दर्जन नेपाली फिर्ता भएका छन् । कामका लागि कतार हिँडेका उनीहरुलाई कतार एयरवेजले नै बोर्डिङ पास दिन अस्वीकार गरेपछि आफू फिर्ता भएको नुवाकोट फिकुरीका घनश्याम शर्माले जानकारी दिए ।
‘मसहित झन्डै ४० जनाको हाराहारीमा रहेका कामदारलाइई कतार एयरवेजले नै सरकारी निर्णय भन्दै फिर्ता पठाइदियो,’ उनले भने ।सोमबार दिउँसोको उडानमा रहेका दोहा जाने कामदार र पर्यटकलाई फिर्ता पठाएको भए पनि दोहा ट्रान्जिट भएर अन्य मुलुक जानेलाई भने उसले लिएर गएको छ ।हरेक दिन ३ वटा उडान भर्दै आएको कतार एयरवेजले सरकारले लगाएको यात्रा प्रतिबन्धका कारण नेपालमा भर्दै आएको उडान कटौती गर्ने सम्भावना रहेको छ ।
Leave a Reply