Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सन् २०२३

    स्थायी बसोबासका लागि ७१ हजार नेपाली विदेश जाँदा ४५९ विदेशी नागरिक निष्कासित

    स्थायी बसोबासका लागि ७१ हजार नेपाली विदेश जाँदा ४५९ विदेशी नागरिक निष्कासित

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 708
    SHARES

    काठमाडौं । नेपालबाट पछिल्लो एक वर्षमा ७० हजार ९१५ जना नेपाली विदेशमा स्थायी बसोबासको लागि गएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा नेपालबाट स्थायी बसोबास गर्नको लागि विदेश जाने नेपालीको संख्या ७० हजार ९१५ जना रहेको छ ।

    आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सन् २०२३ मा १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक विदेश जाँदा १२ लाख ६३ हजार ४६९ भित्रिएको बताए । पछिल्लो एक वर्षमा विदेश गएकामध्ये ३ लाख ४० हजार ३६९ जना नेपाली विदेशमा नै बसेको बताए ।



    तामाङका अनुसार यस अवधिमा अध्ययनको लागि १ लाख ८ हजार ५४२ जना, अस्थायी बसोबास भिसामा ९२ हजार ३४९, स्थायी बसोबास भिसामा ७० हजार ९१५ जना र विवाह गरेर डिपेन्डेण्ट भिसामा २० हजार ६१३ जना नेपाली विदेश गएका छन् ।



    पछिल्लो एक वर्षमा २ लाख ९२ हजार २४० नेपाली कुनै न कुनै रूपमा विदेश बस्नेगरी गएको उनले आँकडा प्रस्तुत गरे । महानिर्देशक तामाङले २ लाख ९२ हजार २४० तथ्याङ्कमा भारतको भूमि भएर तेस्रो देशमा गएका नागरिकहरूको संख्या समावेश नभएको बताए ।

    सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नेपाली नागरिक श्रमिकको रूपमा विभिन्न देश गएको सुनाउँदै उनले नेपालबाट विदेशमा बसेका छोरा छोरीकोमा नातासम्बन्ध भिसामा १ लाख ६७ हजार ४८५ जना नेपाली विदेशमा रहेको जानकारी गराए । भ्रमण तथा धार्मिक प्रयोजनको लागि १ लाख ४ हजार ५१५ नागरिक नेपालबाट विदेश गएको तथ्याङ्क विभागसँग रहेको छ ।

    ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन
    विभागका अनुसार सन् २०२३ मा ४५९ विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ । विभागका महानिर्देशक तामाङले सन् २०१७ मा ५५९, २०१८ मा ६७८, २०१९ मा ६७१, २०२० मा ३३२, २०२१ मा ३०८ र २०२२ मा ५७० जना विदेशी नागरिकलाई विभिन्न कारणले नेपालबाट निष्कासन गरिएको बताए ।

    विभागका अनुसार १७ बुँदे निर्देशनको कारण सन् २०२३ मा ६ हजार १३२ जना नेपाली नागरिक विमानस्थलबाट फर्काइएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार