काठमाडौं । प्रहरीले नक्कली ‘सुन’ देखाएर ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय शाखा भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलील शुक्रबार र शनिबार दुई दिन लगाएर नक्कली सुन देखाएर ठगी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ का ३८ वर्षीय छुल्टीम लामा, सोही ठाउँका राजेन्द्र तामाङ, बहादुर लामा, दावा दुण्डुप तामाङ र जितबहादुर तामाङ छन् ।
उनीहरूले रामेछापको दोरम्बा गाउँपालिका–४ की विनीता थापामगरलाई एक किलो नक्कली ‘सुन’ देखाएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
सुनमा लगानी गर्दा फाइदा हुने आश्वासन दिएर सात लाख ७५ हजार रुपैयाँ लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए ।
थापाले आफू ठगीमा परेको प्रहरीमा उजुरी दिएकी थिइन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले दुई लाख रुपैयाँ नगद र मोबाइल फोन बरामद गरेको छ । उनीहरूमाथि भक्तपुर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Leave a Reply