Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • लिदीका जनतालाई सुरक्षित ठाउँमा नसारिएकाेप्रति कांग्रेसकाे आक्रोश

    लिदीका जनतालाई सुरक्षित ठाउँमा नसारिएकाेप्रति कांग्रेसकाे आक्रोश

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 5K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ लिदीका जनतालाई सुरक्षित ठाउँमा नसारिएकोप्रति सरकारसँग प्रश्न गरेको छ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज (शनिबार) एक विज्ञप्ति जारी गरि लिदीका जनताले लिखित रूपमा गुहार गरे पनि सरकारले सुरक्षित स्थानमा नसारेर त्यहाँका जनताको अमूल्य जीवन जोगाउन पहल नगरेको जनाएका हुन्।



    विज्ञप्तिमा भनिएको छ–‘जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को के हुनसक्छ ? कोरोनाको महामारीसँग जुध्न असफल भइ रहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको छ।’



    लिदीमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका ३९ मध्ये १६ जनाको शव फेला परेको छ भने घाइते भएका ६ जना उपचाररत छन्।

    गत साउन २३ गते लिदीका बासिन्दाले गाउँ जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानान्तरण गर्न निवेदन दिएका थिए।

    बस्ती जोखिममा रहेको भन्दै स्थानीयले स्थानान्तरणका लागि माग गर्दासमेत विपद् व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले चासो दिएनन् । जसका कारण लिदीबासीले आज यो दुर्दशा भोग्नु पर्यो ।

    मुनितिर २६ मेगावाटको बलेफी ए हाइड्रोपावरुको सुरुङ र माथितिर भूकम्पले हल्लिएको पहाड जसले लिदीबासीलाई रुवायो ।

    सुरुङ निर्माणको क्रममा विस्फोटन गर्दा जमिन हल्लिँदा पहिरो गएको स्थानीयको आरोप छ । निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घर जोखिममा परेको भनेर सुचना दिएका थिए ।

     

    यस्तो छ कांग्रेसद्धारा विज्ञप्ति

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पर्ने लिदीमा गएको पहिरोमा परेर जीवन गुमाएकालाई श्रद्धाञ्जली एवं बाँचेकाहरुलाई उपचार र राहतको कर्तव्य देशले निर्वाह गरिरहंदा घटनासँग गांसिएको गम्भीर प्रश्नबारे गम्भीर बहसको आवश्यकता नेपाली कांग्रेस सार्वजनिक रुपले औंल्याउन चाहन्छ।

    जुगल गापाको वडा नम्बर २ का लिदि, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो।

    यतिबेला सिंगो देशको ध्यान पहिरोले गरेको जनधनको क्षति उपर केन्द्रित हुनु स्वभाविक हो तर पहिरोमा जसले जीवन गुमाए तिनले अघिल्लो सातादेखि नै पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्नु तर सरकारको कुनै निकायले पनि त्यहाँका जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईं मात्रै होईन राज्यको अक्षम्य गल्ती हो।

    प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो।

    हामी प्रश्न गर्न चाहन्छौ जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ?

    लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ ?

    कोरोनाको महामारीसँग जुध्न असफल भइ रहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको छ।

    कोरोनाको बढ्दो आक्रामकता र देशका विभिन्न स्थानमा बाढी पहिरोको निर्मम चोट प्रति गम्भीर तदारुकता साथ कार्य गर्न नेपाली कांग्रेस फेरि पनि नेकपाको सरकार संगै तीनै तहका सरकारहरुलाई अपिल गर्दछ।

    विश्वप्रकाश शर्मा,
    प्रवक्ता।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार