काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले फागुन २० देखि रिक्त हुन लागेको राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीले दाबी नछोड्ने बताएका छन् ।
प्रवक्ता सापकोटाले यस विषयमा शुक्रवार दिउँसो बस्ने स्थायी समिति बैठकमा पनि छलफल हुने जानकारी दिए । फागुनको पहिलो हप्ता प्रज्ञा भवनमा हुने विधान अधिवेशनका एजेन्डा तय गर्न माओवादीले दिउँसो ३ बजे स्थायी समिति बैठक बोलाएको छ ।
आजको बैठकमा मस्यौदा विधान पेस गर्नुको साथसाथै अध्यक्षले समसामयिक राजनीतिका सम्बन्धमा आफ्ना धारणा राख्ने सापकोटाले बताए । उनले भने–‘मूलतः स्थायी समिति बैठकमा मस्यौदा विधानबारे छलफल हुन्छ । साथै आजको बैठकमा अध्यक्षले समसामयिक राजनीतिबारे आफ्ना धारणा राख्नुहुन्छ । राष्ट्रियसभामा रिक्त हुने अध्यक्षमा माओवादीको दाबी रहन्छ ।’
माओवादीले मस्यौदा विधानमाथि छलफल गरी परिमार्जनसहित पारित गर्न शुक्रवार र शनिवार स्थायी समिति बैठक राखेको छ । माओवादीले चार महिने विशेष रूपान्तरण अभियानबारे समीक्षा गर्न २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।
Leave a Reply