काठमाडौं। काठमाडौँको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । मुख्य अभियुक्त आङदोर्जेलाई १२ घण्टा नबित्दै पक्राउ गर्न प्रहरी सफल भएको छ ।
दोलखा गौरीशंकर नगरपालिका घर भएका आङदोर्जेलाई मनमैजु क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
आङदोर्जेलाई महाशाखाका एसपी ईश्वर कार्की र महानगरिय प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनाको बिषयमा अहिले थप अनुसन्धान भइरहेको छ ।
शुक्रबार राती मितेरी पुल नजिक शेर्पासहितको समुहले २४ वर्षीय तामाङलाई छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ ।
शुक्रवार राति तीन-चार जनाको समूहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए। राति करिब साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।
स्रोतका अनुसार लक्ष्मण र दोर्जे शेर्पाका समूहका युवाहरुको मादक पदार्थ पिउने क्रममा विवाद हुँदा दुई पक्षबीच हानाहान भएको बयान आङदोर्जेले दिएका छन्।
Leave a Reply