काठमाडौं । आइसीसी यू-१९ विश्वकप क्रिकेटको ‘सुपर सिक्स’मा पुगेको नेपाल खेल्दै नखेलि सेमिफाइनल नपुग्ने पक्का भएको छ ।
मंगलबार समूह १ अन्तर्गत भएको खेलमा समूह विजेताका रुपमा रहेका भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित निकालेसँगै नेपाल, न्युजिल्यान्ड र आयरल्यान्ड सेमिफाइनल नपुग्ने पक्का भएको हो ।
मंगलबार भएको खेलमा ४ अङ्क सहीत सुपर सिक्समा पुगेको समूह ‘ए’ को विजेता भारतले न्युजिल्यान्डलाई २ सय १४ रनको फराकिलो अन्तरले हराउँदै ६ अङ्क बनायो ।
त्यस्तै अर्को खेलमा समूह ‘डी’ को विजेता बनेको पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । जितसँगै भारत र पाकिस्तान सेमिफाइनल नजिक पुगेका छन् ।
भारत र पाकिस्तानको जितसँगै समूह १ बाट नेपाल, न्युजिल्यान्ड र आयरल्यान्डको सेमिफाइन पुग्ने सम्भावना सकिएको छ । नेपालले बुधबार आफ्नो पहिलो खेलमा बंगलादेशको सामना गर्दै छ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतसँग शुक्रबार खेल्ने छ ।
Leave a Reply