Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेनाकाे कहर: इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन!

    काेराेनाकाे कहर: इटलीमा ६ करोड मानिसलाई घरमै बस्न निर्देशन!

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    एजेन्सी । कोरोना भाइरसका कारण मृत्यु र संक्रमण हुनेको संख्यामा भारी वृद्धि भएपछि इटालीले देशभरी नै आपतकालीन उपायहरु विस्तार गरेको छ ।
    इटली सरकारले देशव्यापी रूपमा सार्वजनिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न समेत कडाइ गरेको छ ।

    इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ। इटलीमा चीनपछि सर्वाधिक मानिसमा कोरोना संक्रमण तथा मृत्यु भएको छ । इटलीका २० वटै क्षेत्रमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



    यसअघि संक्रमण फैलिएको लोम्बार्डीसहित अन्य क्षेत्रमा झन्डै एक करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको थियो । प्रधानमन्त्री कोन्टेले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाका लागि यस्तो कदम चालिएको बताएका छन् । आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, ‘अब हामीसँग धेरै समय छैन।’



    प्रधानमन्त्री कोन्टेले इटलीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए । संक्रमण र मृत्यु हुनेको संख्या निकै बढिरहेको बताउँदै उनले भने, ‘हामीले इटलीको राम्रोको निम्ति केही न केही दिनैपर्छ। अब हामीले त्यो गर्नुछ। आपसी सहयोग गर्‍यौँ र अपनाइएका थप उपायहरू पालना गर्‍यौँ भने हामी त्यसमा सक्षम हुनेछौँ।’ इटलीमा देशव्यापी रूपमा फुटबल लगायतका सबै खेल स्थगित गरिएको छ भने ३ अप्रिलसम्म विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएका छन् ।

    त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

    खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार