Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • २ लाख ५० हजार घुससहित ललितपुर नापीका सर्भेक्षक पक्राउ, अख्तियारको टोली पुग्नासाथ कार्यालय प्रमुख साह भागे

    २ लाख ५० हजार घुससहित ललितपुर नापीका सर्भेक्षक पक्राउ, अख्तियारको टोली पुग्नासाथ कार्यालय प्रमुख साह भागे

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 4.1K
    SHARES

    ललितपुर । नापी कार्यालय ललितपुरका सर्भेक्षक रामवीर यादव २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    सेवाग्राहीको काम गर्नका लागि घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मंगलबार कार्यालय समयपछि अपराह्न ४:२० मा कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।



    सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घुस लिइसकेपछि अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोग सम्बद्ध स्रोतले बताएको छ । कार्यालय समय ४ बजे हो । तर सर्भेक्षक यादव कार्यालय समयपछि ४:२० सम्म कार्यालयमा बसेर सेवाग्राहीसँग घुस लिएर काम गर्न तल्लीन थिए ।



    सोही समयमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । ललितपुर नापी कार्यालय प्रमुख उमेशकुमार साहले ती सेवाग्राहीसँग घुसको डिल गरेका थिए । अख्तियारको टोली कार्यालय प्रमुख साहले नै घुस मागेको सूचना पाएर गएको थियो ।

    तर आयोगको टोली कार्यालयमा प्रवेश गर्नासाथ कार्यालय सहयोगी सावित्री बमले हतार हतार सूचना दिएपछि उनी लुसुक्क भागेका थिए । आयोगको टोली प्रवेश गरेपछि कार्यालय प्रमुख उमेशकुमार साह चलाखीपूर्वक मास्क लगाएर भाग्न सफल भएका थिए ।

    जसका कारण आयोगको टोलीले उनलाई नियन्त्रणमा लिन सकेन । साहले नै सर्भेक्षक यादवलाई सेवाग्राहीसँग २ लाख ५० हजार लिएर काम गर्न निर्देशन दिएको प्रष्ट भइसकेको छ ।

    ललितपुर नापी कार्यालयका प्रमुख उमेशकुमार साहले भूमिब्यवस्था मन्त्री रन्जिता श्रेष्ठ, उनका पीए सरोज बुढाथोकी, निजी सचिव वसन्त पुरीलाई बुझाउनुपर्छ भनेर सर्भेक्षकदेखि नापी अधिकृतहरूलाई जनही न्यूनतम ५० हजार घुस उठाएर आफूलाई दिनुपर्ने उर्दी जारी गरेकाले कर्मचारीहरूले सेवाग्राहीहरूलाई अप्ठेरोमा पारी घुस उठाउन बाध्य हुने गरेका छन् ।

    कार्यालय प्रमुख साहले अख्तियारलाई समेत मिलाउनुपर्ने भनेर घुस असुली गर्दै आएका छन् । कार्यालय प्रमुख साहका कारण कर्मचारी चक्रव्यूहमा परी घुस उठाउनुपर्ने बाध्यतामा परेका छन् ।

    भूमिब्यवस्था मन्त्रालयले गएको असोजमा धनुषा सरुवा गरे पनि अनुशासनहीन साहले उच्च अदालतमा रिट दायर गरी सरकारी वकिल शंकर खत्रीदेखि अदालतमा सेटिङ गरी अन्तरिम आदेशका भरमा ललितपुरको कार्यालय प्रमुख छन् ।

    अख्तियारले २ लाख ५० हजार घुससहित नियन्त्रणमा लिएका सर्भेक्षक यादव भक्तपुर नापी कार्यालयबाट महोत्तरी भएका थिए । महोत्तरीबाट गएको असोजमा फेरि उपत्यकाकै ललितपुरमा सरुवा भएर आए । राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलाई पैसा बुझाएर उनी पुनः उपत्यकामा सरुवा भएर आएका हुन् ।

    भट्टलाई १० लाख बुझाएर उनी पुनः उपत्यकाको ललितपुरमा सरुवा भएर आएका थिए । एकातिर कार्यालय प्रमुख साहले दैनिक ५० हजार घुस बुझाउनू भनेको र अर्कोतिर ललितपुर आउन भट्टलाई १० लाख खर्च गरेकाले त्यो उठाउन उनले सेवाग्राहीलाई पार्नुसम्म अप्ठेरो पारी घुस असुली गर्दै आएका थिए ।

    अति सर्वत्र बर्जयेत भनेझैँ हक्की सेवाग्राहीको उजुरीका आधारमा मंगलबार उनी अख्तियारको फन्दामा परेका छन् । कार्यालय प्रमुख साहले ललितपुर नापी कार्यालयमा आएपछि सेवाग्राहीलाई दिनुसम्म दुःख दिएको र सरकारी जग्गा दर्ता गरेको उजुरी अख्तियारमा परेको छ ।

    सप्रमाण उजुरी परे पनि अख्तियारले उजुरीमा छानबिन नै गर्न सकेको छैन । अख्तियारमा प्रमाणसहित उजुरी पर्दा पनि छानबिन नभएपछि उनी झन् बढी अराजक भएर मनपरी गर्न तल्लीन छन् । त्यसकै उपज हो, आजको घुस प्रकरण । यदि अख्तियारले उजुरीमा कारबाही गरेको भए साहको मनपरी यो हदसम्म पुग्ने थिएन कि ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार