काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगपछि अर्को संवैधानिक निकाय सर्वोच्च अदालतमा पनि कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमण फैलिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश इश्वर खतिवडाले नै आफ्ना पीएसओलाई कोरोना पोजेटिभ देखिएको कुरा सामाजिक संजाल फेसबुकमै पोष्ट गरेका छन् ।
अख्तियार प्रमुख आयुक्त नवीनकुमार घिमिरे कोरोना संक्रमित भई आइसोलेसनमा छन् । अख्तियार सिल गरी सबैको पीसीआर परीक्षण गरिसकिएको छ ।
न्यायाधीश खतिवडाले अपराह्न सामाजिक संजालमा लेखेका छन्– ‘श्रावण २२ गते बिहीवारसम्म मेरो सुरक्षाका लागि खटिएका एकजना तामाङ थरका सुरक्षाकर्मी (पीएसओ) मा कोभिड–१९ पोजेटिभ देखियो । नमुना २६ गते दिएको र नतिजा आज करिब १.३० बजे थाहा भयो । त्यसैले शंकाको अवस्था पैदा भएको छ ।
मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन । आशा छ, मलाई संक्रमण भएको छैन होला । तथापी सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दूरी कायम राखेर बसेको छु ।
स्वास्थ्य मन्त्रालयका सम्वन्धित अधिकारीहरुसँग सम्पर्क र प्रारम्भिक परामर्श भएको छ । थप नयाँ कुरा भएमा यथासमयमा सम्प्रेषण गरिने नै छ । यसलाई सहज र सामान्य रुपमा लिइदिनुहुन सवै शुभेच्छुक प्रियजनमा अनुरोध छ ।’
उनले लेखेको स्टाटसमा न्यायाधीश हरि फुयाँलले आफू पनि खतिवडासँग एउटै इजलासमा बसेकाले सुरक्षित रहने उल्लेख गरेका छन् ।
Leave a Reply