काठमाडौं । सोमबारदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दुःखद निधन भएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा बानियाँको शव भेटिएको हो ।
हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।
उनी आइतबार बेलुका पत्रकार छायाँचन्द्र भण्डारी निवास नैकापमा बसेको खुलेको छ । बानियाँका परिवारले भण्डारीलाई राती घर पठाइदिन आग्रह गर्दा बानियाँ भने भण्डारीकै घरमा बसेको खुलेको छ । बानियाँ पछिल्लो समय कान्तिपुर दैनिकले जिम्मेवार विहिन बनाएको भन्दै मानसिक तनावमा थिए ।
सोमबार विहान पत्रकार भण्डारीले बानियाँलाई बानेश्वसम्म पुर्याएको तर उनी त्यसपछि फर्किर बल्खु गएको खुलेको छ ।
उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ ।
अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।
तर, सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएको प्रहरी स्रोतको भनाई छ ।
बानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएका थिए । त्यसपछि उनी सम्पर्कमा थिएनन् ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।
Leave a Reply