पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ।
गठबन्धनबाट गण्डकीमा अन्यतर्फ गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता – अल्पसंख्यकबाट पदमबहादुर परियार र महिलामा मनरूपा शर्माले उम्मेदवारी दिएका छन्।
गठबन्धनबाट उम्मेदवारी दिएका श्रेष्ठ र परियार नेपाली कांग्रेसका उम्मेदवार हुन् भने शर्मा माओवादी केन्द्रका उम्मेदवार हुन्।
श्रेष्ठका प्रस्तावक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र समर्थकमा प्रदेशमन्त्री सुशिला सिम्खडा छन्।
यस्तै, परियारका प्रस्तावकमा कल्पना तिवारी र समर्थकमा कुशुम बुढा पुन छन्। महिला उम्मेदवार शर्माका प्रस्तावकमा हरिबहादुर चुमान र समर्थकमा विन्दुकुमार थापा रहेकी छन् ।
यसअघि एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरिसकेका छन्। एमालेले अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता-अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलाबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिए।
यस्तै, राप्रपाका रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठले पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
Leave a Reply