काठमाडौं । शुक्रबार दुई किशोरको ज्यान जाने गरी ललितपुरको बालकुमारीमा भएको झडप प्रकरणमा डिएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ भने उनका कमाण्डर एसएसपी शिद्धिबिक्रम शाहलाई भने सरुवा मात्र गरेर जोगाइएको छ ।
जबकी प्रारम्भिक छानबिनमै यसमा एसएसपीकै कमजोरी देखिएको छ । इपिएस कोरियाको परीक्षा दिन नपाएको विषयमा केही दिनदेखि त्यहाँ आन्दोलन भइरहेको थियो ।
आन्दोलन गर्नेको संख्या ३२ हजार थियो । जूनसुकै भेला ठूलो भिड जम्मा हुनसक्ने जोखिम थियो । राष्ट्रिय अनुसन्धान विभाग लगायत निकायले यस विषयमा विश्लेषण सुनाउँदै आएका थिए । तर, प्रहरीले यसलाई गम्भीरतासाथ लिएन । शुक्रबार करिब १५ जना प्रहरी मात्र इपिएस कोरिया शाखामा खटिए । त्यहाँ झडप हुँदा प्रहरीले युवाहरुलाई तितरवितर बनायो ।
त्यहाँबाट भड्किएका युवाले मुख्य सडकमा गएर मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका थिए । त्यसपछि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीको विश्लेषण कमजोर हुँदा नै मन्त्रीको गाडी जल्नेदेखि गोली चलेको प्रष्ट भइसकेको छ ।
सो घटनाका कारण हाल सरकार आलोचित छ । ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिबिक्रम शाहकै कारण यसरी अहिले सरकारलाई समस्या भएको हो । उनले वस्तुस्थितीको सही विश्लेषण गर्न नसक्दा भिड भड्किएको हो । त्यसो त उनी यसरी विवादमा परेको पहिलोपटक होइन ।
यसअघि एसपीमा उनी रौतहटमा कार्यरत थिए । जहाँ पत्रकार मोहम्मद मोजिबुल्लाहलाई उनकै योजनामा लागुऔषध मुद्दामा फसाउने प्रयास भएको थियो । पत्रकार मोजिबुल्लाहले एक स्थानीय कांग्रेस नेतृको विरुद्ध समाचार लेखेपछि ती नेतृले शाहलाई प्रभावमा पारी मोटरसाइकलमा लागुऔषध राखिएको थियो ।
लागुऔषध राखिएको घटना सिसिक्यामेराबाट पत्ता लागेपछि प्रहरीको पोल खुलेको थियो । जसमा एसपीका घुमुवा असइ उदय यादबलगायत तल्लो तहका प्रहरीलाई कारबाही गरी शाहलाई जोगाइएको थियो । ‘छानबिनमा एसपीको पत्यक्ष संलग्नता भेटिएको थियो, यसबारे उनको अडियो नै सार्वजनिक हुँदा पनि जिल्लाबाट हटाउने बाहेक कारबाही हुन सकेन,’ एक प्रहरी अधिकारी भन्छन्,‘कार्यक्षमतामा कमजोर उनी सधैं यस्तो विवादमा पर्दै आएका छन् ।’
डिएसपी हुँदा काठमाडौंको मुद्दा शाखामा हुँदा पनि उनले करोडौं कमाएको प्रहरी अधिकारी बताउँछन् । प्रहरीको प्रबन्धमा बसेर समेत उनले तर मारिसकेका छन् ।
राष्ट्रिय अनुसन्धान विभागबाट पहुँचकै भरमा प्रहरीमा स्थानान्तरण भएका उनी शक्तिकेन्द्रहरुको आडमा सधैं आकर्षक पोष्टिङ पाउँदै आएका छन् ।
डेढ बर्षअघि कारबाहीको सिफारिस भएको अवस्थामा उनलाई एसएसपी बढुवामा पहिलो नम्बरमा राखिएको थियो । बढुवा लगत्तै लुम्बिनी प्रदेशको अपराध अनुसन्धान कार्यालयको प्रमुखमा इन्चार्ज दिइएको थियो । त्यहाँबाट गत वर्ष ललितपुर परिसरको इन्चार्ज पाएका थिए ।
आर्थिक लेनदेनमा मुछिएपछि गत साउनमा नै उनलाई हटाउने प्रस्ताव प्रहरी महानिरीक्षक बसन्त कुँवरले गरेकोमा आरजु देउवामार्फत सरुवा रोकाएका थिए ।
अहिले पनि ललितपुरबाट हटाइएपछि विभागीय कारबाहीबाट जोगाए आश्चर्य नहुने प्रहरी अधिकारी बताउँछन् । ललितपुरमा हुँदा मिटरब्याजी तथा सहकारी ठगसँग लाइन खाएको विषयमा समेत प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।
Leave a Reply