काठमाडौं । काठमाडौंमा एक जना पुरूषको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षका सम्राट भन्ने वीरे तामाङ छन् ।
चार जनाको समूहले रसुवाका हिस्सी थाया तामाङलाई १० मंसिरमा चाबहिलबाट अपहरण गरेका थिए । जबरजस्ती ट्याक्सीमा राखेर जंगलको बाटो हुँदै राति गागलफेदीको होटलमा राखेका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
हिस्सी थाया तामाङको चेक प्रयोग गरेर १३ लाख ५० हजार निकालेपछि उनलाई छाडेका थिए । उनीहरुबाट छुटेपछि तामाङले दिएको उजुरीका आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरुले तामाङलाई अपहरण गरेको र रकम लिएको स्वीकार गरेका छन् । यो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply