Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कांग्रेसकाे आग्रह : कोरोना नियन्त्रणमा सरकार संवेदनशील देखिएन, आफ्नो सुरक्षा आफै गर्नुस

    कांग्रेसकाे आग्रह : कोरोना नियन्त्रणमा सरकार संवेदनशील देखिएन, आफ्नो सुरक्षा आफै गर्नुस

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि अबिलम्ब कदम चाल्न सरकारलाई फेरि सुझाव दिएका छ । समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर सरकारलाई कोरोना नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्यका बारेमा विभिन्न १३ बुँदे सुझाव दिएको हो ।

    समितिले दिएका सुझावहरु यस्ता छन् :



    १. लकडाउन खोलिए यता पनि नेपालको आर्थिक सामाजिक क्षेत्र पूर्णरुपमा सुचारु हुने अवस्था छैन । देशको शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था छ । हामीले यस विषयमा उठाउँदै आएका जोखिम न्यून गर्ने उपायतर्फ सरकार गम्भीर बनोस्, हामी फेरि यो माग गर्दछौं ।



    २. सम्भावित संक्रमितहरुलाई सीमामा प्रवेश रोक्न कडाईका साथ व्यवस्थापन गरियोस् ।

    ३. संक्रमण समुदायमा गैसकेको स्थिति भएकोले सम्भावित संक्रमित ठाउँहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परिक्षणको दायरा व्यापक बनाइयोस् ।

    ४. पूर्ण लकडाउन देशले धान्न नसक्ने हुनाले परिक्षणको नतिजाको आधारमा संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गरियोस् ।

    ५. खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्ने व्यवस्था मिलाइयोस् । फिर्ता हुनेहरुलाई व्यवस्थित होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गरियोस् । साथै, आर्थिक अभावमा ठूलो संकट झेलिरहेका नागरिकहरुलाई सहयोग पु¥याउन सम्बन्धित कुटनैतिक निकायहरुलाई परिचालन गर्न सरकारसँग माग गर्दछौं ।

    ६. समुदायमा संक्रमण विस्तार सँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढ्दो छ । विरामीको संख्या पनि बढ्दो छ । तत्काल निजी अस्पतालहरुलाई पनि सहभागी गराई कोभिड–१९ को उपचारमा परिचालन गर्ने व्यवस्था मिलाइयोस् ।

    ७. आवश्यक संख्यामा भेन्टिलेटर, हस्पिटल बेड, आइसियु कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणहरुको चाहिदो व्यवस्था मिलाइयोस् ।

    ८. स्वास्थ्यकर्मी र यसमा संलग्न अन्य सहयोगीहरुको हौसला कायम राख्न कोभिड–१९ जोखिम भत्ता तत्काल व्यवस्था गरियोस् । विमाको व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् ।

    ९. कोभिड-१९ सम्बन्धित स्वास्थ्यकर्मीहरुको अभाव देखिएको छ । भविष्यमा थप स्वास्थ्यकर्मीहरुको आवश्यकतालाई समेत ध्यानमा राखी तत्काल आवश्यक तालिमको व्यवस्था मिलाई स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिने व्यवस्था सुनिश्चित गरियोस् ।

    १०. क्वारेन्टाइन केन्द्रहरुलाई मापदण्ड अनुसार बनाउने व्यवस्था तत्काल गरियोस्, त्यसको लागि आवश्यक आर्थिक सहयोग स्थानीय निकायहरुलाई दिइयोस् ।

    ११. कुनै पनि नागरिक कोभिड-१९ सम्बन्धी होस् वा अन्य विरामी हुन् उपचारको ढोका बन्द भएर मर्नु हुँदैन । वीरगञ्ज लगायतका अन्य ठाउँहरुमा उपचारको ढोका बन्द हुँदा मर्नु परेको घटना अत्यन्त दुःखदायी छ । यो अवस्थाको तत्काल अन्त्य गरियोस् ।

    १२. कोभिड-१९ रोकथामका लागि विभिन्न औषधीहरुको प्रभावकारिताका आधारमा प्रयोग भैरहेको छ । त्यसको निर्णय उपचारमा संलग्न विज्ञ डाक्टरहरुले गर्ने हो । सरकारले त्यस्ता औषधी तथा अन्य स्वास्थ्य उपकरणहरुको आयात निजी क्षेत्रलाई खुला गरोस् ।

    १३. कोभिड-१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्ण रुपमा असफल भएको छ । तत्काल कोभिड-१९ नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी दिइयोस् । स्वास्थ्य मन्त्रालयमा समेत योग्यता, वरिष्ठता र व्यवसायिकतालाई वेवास्ता गरिदा नेतृत्व अप्रभावकारी देखिएको छ । वरिष्ठता र व्यवसायिकताका आधारमा स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिइयोस् ।

    कांग्रेसले कोरोना नियन्त्रणका लागि सरकार संवेदनशील नभएका कारण संक्रमणले व्यापक रुप लिन सक्नेभन्दै नागरिकलाई आफ्नो सुरक्षा आफै गर्न पनि आग्रह गरेको छ । अनुगमन समितिले कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई सक्दो सहयोग गर्न पार्टीका नेता–कार्यकर्ताहरुलाई आह्वान पनि गरेको छ ।

    समितिले नेता–कार्यकर्ताहरुलाई अनिवार्य रुपमा सावधानी अनुसरण गर्न पनि आग्रह गरेको छ ।

    १. मास्क लगाउन कुनै पनि हालतमा नर्बिसौं ।

    २. एक अर्कासँग भेट्दा अनिवार्य रुपमा भौतिक दूरी कायम राख्न नभुलौं ।

    ३. स्यानीटाइजरको प्रयोग गर्ने र सावुन पानीले पटक–पटक हाँत धुने कुरालाई अनिवार्य रुपमा अवलम्वन गरौं ।

    ४. अत्यावश्यक काममा मात्र सार्वजनिक स्थलमा हिडडुल गरौं ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार