ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता पछिको विकास सन्तोषजनक रहेको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ ? भन्दै प्रश्न गरे।
उनले आफू काठमाडौंको फोहोर व्यवस्थापन लगायतका कुरामा रचनात्मक रहेको बताए । व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर साहलाई प्रश्न गरे ।
प्रधानमन्त्री प्रचण्डले भने,‘उहाँले भन्नुभयो यहाँबाट निस्किने बित्तिकै हुन्छ, म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने बालेन्द्र जी तपाईंले चाहे त्यो वागमतीमा बसेको हस्तक्षेपको कुरालाई लिएर होस् वा तीनकुनेको कुरालाई लिएर होस् पवा फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कति पटक सिंहदरबारमा बैठक भयो, के अहिलेको प्रधानमन्त्री जत्तिकै सकारात्मक र रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कसैले देख्नुभएको छ । अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ । आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।’
मेयर बालेनले आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने गरेको भन्दै कार्यक्रमकै मञ्चबाट प्रधानमन्त्री दाहालले यसो गर्दा आफूलाई इरिटेसन हुने बताए।
प्रधानमन्त्री दाहाल बोल्नुअघि काठमाडौंका मेयर बालेनले कुरा राखेका थिए। मेयर बालेनले संघीय सरकारबाट कुनै कुनै कुरामा चाहेकोजस्तो सहयोग नमिलेको गुनासो गरेका थिए। प्रधानमन्त्रीले चाहने हो भने खोला अतिक्रमणका विषय पाँच मिनेटमा सल्टिने पनि उनले बताएका थिए।
प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार बनेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि भएका विकास उत्साहवर्द्धक रहेको बताए ।
७५३ तहकै अवस्था हेर्दा आफूले विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताए ।
Leave a Reply