Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – काठमाडौं महानगरले गरेको कामले संघीय सरकारलाई प्रेरणा मिलेको छ

    प्रधानमन्त्री प्रचण्डले भने – काठमाडौं महानगरले गरेको कामले संघीय सरकारलाई प्रेरणा मिलेको छ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 573
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारलाई बलियो बनाउन सरकार दृढ रहेको बताएका छन् ।

    शुक्रवार काठमाडौं महानगरपालिकाको २९ औँ महानगर दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरपालिकाले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको बताए। प्रधानमन्त्री प्रचण्डले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताए।

    प्रधानमन्त्री प्रचण्डले भने,‘शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ।’

    उनले सकारात्मक कार्यमा अविचलित भई अगाडि बढ्नका लागि महानगरको नेतृत्व र टिमलाई अपिलसमेत गरे। प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरलाई ऐतिहासिक सहरका रूपमा स्थापित गर्न सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति आफू तत्पर रहेको पनि बताए।

    काठमाडौं देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरूमध्येको एक सांस्कृतिक शहर भएकाले काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार रहेको र रहनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार