काठमाडौं । माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।
सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ ।
उनले रिटनिवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् ।
जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर-बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो।
नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलमा मंसिर ७ गते प्रदर्शन गर्ने तयारी गरेका थिए।
एकैदिन दुईपक्षबीच एकै ठाउँमा प्रदर्शन गर्न लागेपछि प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न, दंगा भड्किन रोक्न भन्दै सोमबारदेखि ३० दिनसम्म माइतीघर मण्डलदेखि नयाँ बानेश्वर क्षेत्रसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।
Leave a Reply