काठमाडौं । गृह प्रशासन सुधारका लागि अध्ययन समिति गठन भएको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले पूर्वमुख्यसचिव लीलामणी पौडेलको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेका हुन् ।
मन्त्रालयले गत कात्तिक २४ गतेदेखि नै समिति बनाएर काम गरेको छ। गृह मन्त्रालयले विशेष गरी ७ वटा निकायको काम सुधार गर्ने गरी योजना बनाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागार व्यवस्थापन, अध्यागमन विभाग, स्थानीय प्रशासन तथा त्यसका सेवा प्रभाव, विपद् व्यवस्थापन र राष्ट्रिय परिचय पत्रलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अध्ययन गर्न समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ । समितिको तीन महिना कार्यअवधि राखिएको छ।
अध्ययन समिति संयोजक पौड्याल, सदस्यहरू पूर्वसचिव शरदचन्द्र पौड्याल, पूर्वसचिव शंकरप्रसाद कोइराला, पूर्वसचिव लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक खड्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम छन्।
गृहमन्त्री श्रेष्ठले भने,‘गृह मन्त्रालयको कार्य क्षेत्रको कामलाई अझै प्रभावकारी र परिणाममुखी बनाउन एकीकृत एउटा कार्ययोजना बनाउनु पर्छ । हाम्रा पहिलाका केही सुधारका कार्य योजना नभएको होइन । तर, आजको परिप्रेक्ष्यमा नयाँ सुधार कार्ययोजना बनाउने र त्यसलाई दृढतापूर्वक कार्यान्वयनमा लगेर मात्रै अहिले सरकारले भनेको सकारात्मक गुणात्मक हस्तक्षेपद्वारा सुशासन र समृद्धिको अभियानलाई हामीले गुणस्तरीय रुपमा स्थापित गर्नसक्छौं।’
समितिको सदस्यको सचिवको जिम्मेवारी भने गृह मन्त्रालयका नीति तथा योजना महाशाखाका सहसचिव थानेश्वर गौतमलाई दिइएको छ ।
Leave a Reply