Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • जाजरकोट भूकम्प : ४५ स्वास्थ्य संस्था, २०८ विद्यालयमा क्षति

    जाजरकोट भूकम्प : ४५ स्वास्थ्य संस्था, २०८ विद्यालयमा क्षति

    अनलाइन नेपाल
  • शुक्रबार, १ मंसिर २०८०
  • 822
    SHARES

    जाजरकोट । जाजरकोट भूकम्पले जाजरकोट र रुकुम पश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि अस्थायी टहराबाट सेवा प्रवाह भएको छ ।

    दसैँ–तिहार बिदामा बन्द रहेका विद्यालय अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा ६ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुम पश्चिममा दुईवटा पूर्ण र २२ आंशिक गरी २४ वटा र सल्ल्यानमा तीनवटा पूर्ण क्षतिसहित कूल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।



    स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकीमा क्षति भएको छ । स्वास्थ्य संस्थामा भएको क्षतिको आकलन भइरहेकाले यो सङ्ख्या बढ्ने जनाइएको छ ।



    ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति भएपछि सेवा प्रवाहमा समस्या भएको छ । भवनमा क्षति भएकामा अस्थायी रूपमा त्रिपाल राखेर स्वास्थ्य सेवा प्रवाह गरिएको निर्देशक खड्काले बताए ।

    २०८ विद्यालयमा क्षति

    भूकम्पबाट २०८ विद्यालयमा पूर्ण क्षति भएको छ । करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएका जनाइएको छ । जाजरकोटमा १७३ र रुकुम पश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

    कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी ५८१ र रुकुम पश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएका छन् ।

    मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा २०८ पूर्ण र ४१८ आंशिक तथा रुकुमपश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति भएको बताए ।

    भूकम्पबाट जाजरकोटमा २२ हजार ७५९ र रुकुम पश्चिममा १७ हजार ३५१ गरी कूल ४० हजार ११० विद्यार्थी प्रभावित भएका उक्त मन्त्रालयले जनाएको छ ।

    मनोविमर्शकर्ता परिचालन

    भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुमपश्चिमका गरी ३३ मनोविमर्शकर्ता परिचालन गरेको छ । जाजरकोटमा २१ र रुकुमपश्चिममा १३ मनोविमर्शकर्ता परिचालन गरिएको हो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार