मस्को । रुसी विदेश मन्त्रालयले अमेरिकासँगको सम्बन्ध कुनै पनि बेला विच्छेद हुन सक्ने बताएको छ । रुस र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध पुनःस्थापनाको ९०औँ वर्षगाँठको अवसरमा बिहीबार रुसी परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने अवस्थामा पुगेको बताएको हो ।
वासिङ्टनको ‘रुसोफोबिक’ (रुस र रुसी जनताप्रिको डर) गतिविधिका कारण सम्बन्ध विच्छेद हुने जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।
‘यो रुसको छनोट होइन । यद्यपि, अमेरिकाले चालेका गैरजिम्मेवार कदमहरूले द्वन्द्वलाई बढावा दिइरहेको छ । यसले विनाशकारी नतिजा निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले बताएको छ ।
वासिङ्टनले आफ्नो सैद्धान्तिक उद्देश्यमा ध्यान केन्द्रित गर्दै रुसलाई गलहत्याउने रणनीतिका कारण द्विपक्षीय सम्बन्ध बिग्रिएको रुसको दाबी छ ।
अमेरिकी आधिपत्य र प्रभुत्वलाई ‘आधारभूत विश्वदृष्टिकोण’ मान्ने वर्तमान अमेरिकी राजनीतिक अभिजात वर्गका नीतिहरूले पनि सम्बन्धलाई ठूलो मात्रामा बाधा पुर्याएको रुसको बुझाइ छ ।
‘संयुक्त राज्य अमेरिका रुसका जनताको अशान्ति र स्थिर शासन व्यवस्था परिवर्तनलाई व्यवस्थित गर्नमा केन्द्रित छ, र यसले यी लक्ष्यहरू प्राप्त गर्न स्रोतहरू लगानी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । रासस
Leave a Reply