Online Nepal
  • बुधबार, १० पुष २०८१
  • २० दिन पनि टिकेन कोशीमा विद्रोही कांग्रेस–एमाले गठबन्धन, काँध थापेकालाई ‘लात हान्दै’ पुरानै गठबन्धनमा फर्किए कार्की

    २० दिन पनि टिकेन कोशीमा विद्रोही कांग्रेस–एमाले गठबन्धन, काँध थापेकालाई ‘लात हान्दै’ पुरानै गठबन्धनमा फर्किए कार्की

    अनलाइन नेपाल
  • शुक्रबार, १७ कार्तिक २०८०
  • 1.1K
    SHARES

    विराटनगर । कोशी प्रदेश सरकारमा २० दिनपछि पुनः केन्द्रीय गठबन्धन कायम भएको छ । एमालेले बनाएका मुख्यमन्त्री केदार कार्की एमालेलाई नै ‘लात हान्दै’ पुरानै गठबन्धनमा फर्किएका छन् ।

    एमालेकै बुई चढेर मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज एमालेकै सहमति बेगर सरकार विस्तार गरेपछि कोशी सरकार फेरि पनि सरकारको भविष्य अनिश्चित बन्न पुगेको छ ।



    गठबन्धनको प्रमुख दल कांग्रेसबाट विद्रोह गराउँदै आफू अनुकूल सरकार बनाउन कोशीमा एमालेले खेलेको चाल अन्तत २० दिनपछि असफल भएको छ । एमालेले सरकारमा माओवादीलाई कुनै पनि हालतमा सहभागी गराउन नहुने दबाब दिंदै आएको थियो । तर, कार्कीले आज माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री बनाए । जसले गर्दा कोशी सरकार अब कसरी अगाडी बढ्छ भन्ने प्रश्न उब्जिएको छ ।



    ४ मंसिर २०७९ निर्वाचनपछिको एक वर्षमा कोशी प्रदेशमा पाँचवटा सरकार बने । तीन वटा सरकार संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको बने, एउटा अल्पमतको सरकार बन्यो ।

    हाल संविधानको धारा १६८ को उपधारा ५ अनुसार स्वतन्त्र सांसदको हैसियतमा केदार कार्की नेतृत्वमा सरकार छ । सरकार बनाउने अन्तिम विकल्पमा बनेको यो सरकारले प्रदेश सभाबाट प्रचण्ड बहुमत (९३ सदस्यीय प्रदेश सभामा ८६ मत) पाएको छ ।

    कोशी प्रदेशको सरकार पटक–पटक फेरिरहनुमा केन्द्र सरकार र केन्द्रीय नेताहरुको हात ठूलै छ । पछिल्लो समय आफ्नै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको खरो आलोचना गर्दै आएका कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले एमालेको सहयोगमा कार्कीलाई मुख्यमन्त्री त बनाए । तर, यसलाई निरन्तरता दिन भने उनी पनि असफल भए ।

    यसको मुख्य कारक बन्यो, कार्की मुख्यमन्त्री नियुक्त हुनुपूर्व असोज २७ गते बिहान शेरबहादुर देउवा, प्रचण्ड र शेखर बसेर गरेको एउटा सहमति । जहाँ शेखरले गठबन्धन दायाँ बायाँ नहुने प्रतिबद्धता जनाए । जसले गर्दा आज कोशीमा नयाँ समिकरण बन्यो । कार्कीले आज नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगुले मन्त्री बनाएसँगै एमालेबाट मन्त्री बनेका राम रानाले भने राजिनामा दिने भएका छन् ।

    सहमति विपरित माओवादी र समाजवादीबाट मन्त्री बनाएको भन्दै एमाले कोशी प्रदेश सरकारबाट बाहिरिने भएको हो । रानाले भोली नै राजिनामा दिने तयारी गरेको एमाले पार्टी स्रोतले जनाएको छ । राना असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएसँगै मन्त्री भएका थिए । उनलाई अहिलेसम्म मन्त्रालयस भने दिइएको छैन ।

    एमालेका ३९ सांसद र कांग्रेसबाट विद्रोह गराएर ८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले २० दिनपछि एमालेलाई लात हानेका हुन् । कार्कीले कार्तिक १ गते विश्वासको मत लिएका थिए । त्यसबेला उनले राप्रपाको बाहेक सबैको मत (८६) पाए ।

    अब कार्कीसँग बहुमत सांसद (४७) त पुग्छ । तर, एमालेले एमालेका सांसदहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर फेरि उपसभामुख र ज्येष्ठ सदस्यहरुलाई अनुपस्थित गराएर प्रदेशसभा संचालन गर्न बाध्य पार्ने विगतकै कदम चाले पुरानै कथा दाहोरिने छ ।

    संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारलाई सांसदहरुले दिएको समर्थन फिर्ता लिए भने पुनः विश्वासको मत लिनुपर्छ वा पर्दैन ? पुनः विश्वासको मत दिनुपर्ने अवस्था अदालतमार्फत आइलाग्यो भने ४७ सांसद कसरी पुग्लान् ? त्यसबेला राप्रपाले गठबन्धनलाई सहयोग गर्ला ? कि सबै दलहरु मध्यावधिमा जान तयार होलान् भन्ने प्रश्न भने अनुत्तरित नै छ ।

    एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्की एमाले अब सरकारमा नबस्ने बताइसकेका छन् । एमालेकै प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि गठबन्धन कार्यान्वयन हुँदा आफ्नो पार्टी सरकारमा नरहने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार