काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि नेपालले युएईसँग खेल्नुपर्ने भएको छ ।
समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि नेपालको भेट युएईसँग हुने भएको हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।
समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । बिहीबारको खेलले समूह वितेको टुंगो लगाएको हो ।
नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो ।
सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए । सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ ।
यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । यूएईले बिहीबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङलाई २२ रनले पराजित गरेको हो । सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको टुंगो लाग्न बाँकी छ ।
सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । अर्को सेमिफाइनल खेल समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताबिच हुनेछ । नेपालले यूएईसँग निर्णायक खेल खेल्ने छ ।
Leave a Reply