Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रिन्सिपल सर्राफ हत्या प्रकरण

    मृतकको चरित्र हत्या गरेको भन्दै प्रहरी अनुसन्धानमाथि पीडित परिवारको आपत्ति

    मृतकको चरित्र हत्या गरेको भन्दै प्रहरी अनुसन्धानमाथि पीडित परिवारको आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । प्रहरीले बुधबार बारा कलैया उपमहानगरपालिका-६ मदरसा टोलका रूपेश सर्राफको हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गर्‍यो । घटनामा मुख्य योजनाकार कलैया उपमहानगरपालिका-६ की २२ वर्षीया राधा गुप्ता रहेको भन्दै बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न पाँच जनालाई सार्वजनिक गरेको थियो ।

    तर हत्या गरिएका सर्राफका परिवारजनले प्रहरीले युवतीसँग नाम जोडेर मृतक रुपेश र आफूहरूको चरित्र हत्या गरेको आरोप लगाएका छन्। मुख्य योजनाकार भनिएकी महिला बाल एकता स्कुलकी पूर्वलेखापाल समेत हुन् । प्रहरीले संलग्नलाई सार्वजनिक गरेलगत्तै मृतक रुपेशका दुई दाजुले पत्रकारहरूसँग कुरा गर्दै प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाए ।



    प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले पाँच अभियुक्तलाई सार्वजनिक गर्दै युवतीसँगको प्रेम सम्बन्धका कारण रुपेशको हत्या भएको जानकारी गराएका थिए । तर पत्रकारहरूसँगको कुराकानीमा मृतक रुपेशका दाजु सुबोध सर्राफले युवतीसँगको प्रेम सम्बन्धका कारण भाइ रुपेशको हत्या भएको भन्ने प्रहरीको दाबी झुठो रहेको जिकिर गरे ।



    पक्राउ परेकी राधा गुप्तासँग आफ्नो भाइ रुपेशको कुनै प्रेम सम्बन्ध नरहेको उनको दाबी छ । रुपेशलाई गोली हान्ने अपराधी चार जनामध्ये अहिलेसम्म एक जनालाई पनि पक्राउ गर्न नसकेको प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्ने प्रयास गरिरहेको मृतक रुपेशका दाजु सुबोधले बताए।

    बाल एकता बोर्डिङ स्कुलका प्रबन्ध निर्देशकसमेत रहेका सुबोधले प्रहरीले पक्राउ गरेकामध्ये दुई जना युवक निर्दोष रहेको र प्रहरीले झुठो आरोपमा फसाएको पनि उनको भनाई छ ।

    प्रहरीले स्वर्णकारको हत्यामा संलग्न कलैयानिवासी राधा गुप्ता, सोही ठाउँका ३४ वर्षीय जामिल अख्तर, कलैया–९ रामपुरका २६ वर्षीय रियाज अन्सारी, गोली प्रहार गर्ने समूहका सदस्य मोतिहारी पूर्वी चम्पारणका २३ वर्षीय अभिनवकुमार राजपुत र २३ वर्षीय चन्दकुमार सार्वजनिक गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार