काठमाडौं । बाराको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्याको कारण प्रेम सम्बन्ध भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।
गोली प्रहारबाट हिजो मृत्यु भएका बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल सर्राफको हत्या प्रेम सम्बन्धकै कारण भएको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो ।
कलैयास्थित मदर्शा टोलमा दुईवटा मोटरसाईकलमा आएका चारजना अज्ञात व्यक्तिले तीन राउण्ड गोली प्रिन्सिपल सर्राफमाथि फायर गरेका थिए ।
हत्यामा संलग्न प्रेमिका भनिएकी युवतीसहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। सो घटनामा अन्य थप दुईजनाको पनि संलग्नता हुन सक्ने प्रहरी स्रोतले बतायो ।
पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन। उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरी स्रोतले बतायो ।
यसअघि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिए पनि त्यति बेला उनी बाँच्न सफल भएको पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान गरेको दिएका छन् ।
घटनामा संलग्न रहेका केही व्यक्तिलाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले दस जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा सुक्ष्म रुपमा अनुन्धान भइरहेको प्रहरीले जनाएको छ। सर्राफको कलैयास्थित प्रादेशिक अस्पतालमा पोष्टमर्टम सकेपछि अन्त्येष्टि पनि गरिएको छ।
Leave a Reply