Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ‘अब एक घण्टाको यात्रा १० मिनेटमा’

    ‘अब एक घण्टाको यात्रा १० मिनेटमा’

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.4K
    SHARES

    गलकोट। बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुला गरिएको छ। पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न भने बाँकी नै छन्। पुल ५७६ मिटर लामो छ।

    लकडाउनका बीच वैशाखमै पुल निर्माण सम्पन्‍न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन। पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजारको यात्रा छोटिएको छ। यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।



    पुल बनेपछि बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढी पैदलयात्रा गर्नुपर्नेमा पुलबाट १० मिनेटमै पुग्न सकिने पाङ सुवेदीथर माध्यमिक विद्यालयका प्रधानध्यापक दीपक सुवेदीले बताए।



    पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई समेत यस पुलले आकर्षित गर्नेछ।

    पुल खुला गरेसँगै पुल हेर्न आउनेको भीड नै लागेको छ। सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट जानकारी आएका कारण पुल सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

    २०५९ सालदेखि नै पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने जनाउँदै काम शुरू हुनसकेको थिएन। ४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थ मन्त्रालयले स्विकृति दिएपछि पुल निर्माण थालिएको थियो।

    अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल छन्। शुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने औजार मन्त्रालयले उपलब्ध गराउने भएपछि छ करोड ९१ लाखमा पुल निर्माणको सम्झौता भएको थियो। रासस

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार