काठमाडौं । मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ ।
शनिबार हुने सेमिफाइनलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्नेछ भने भोली नै हुने अर्को सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) र सिंगापुर प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् भने यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
नेपालले समूहगत चरणको तीनवटै खेलमा जित हात पारेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो भने दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो ।
त्यसैगरी नेपाल बिहीबार भएको तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनको विशाल अन्तरले हराएको थियो । प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् ।
छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । जुन समूहमा भारत र पाकिस्तान पनि छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
Leave a Reply