काठमाडौं । सरकारले बझाङ केन्द्रबिन्दू भएर मंगलबार गएको भूकम्पबाट प्रभावितको उद्धार, राहत तथा उपचारमा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बिहीबार बसेको विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि लगत संकलन गर्ने पनि निर्णय गरेको छ ।
बैठकले क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि आर्थिक तथा अन्य सहयोगका लागि तत्काल प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ ।
भूकम्पपछिको राहत, उद्धार तथा पुननिर्माणमा तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बैठकको निष्कर्ष छ । बैठकले सरकारका तर्फबाट राहत, उद्दार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने निष्कर्ष समेत निकालेको छ।
प्रधानमन्त्री दाहालले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेता बोलाएर भूकम्पबाट भएको क्षतिका बारेमा जानकारीसमेत लिइसकेका थिए । मङ्गलबार अपराह्न तीन बजेर ६ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।
Leave a Reply