Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • उपत्यकामा २२ सय बढी प्रहरी परिचालन, लोला हान्नेलाई पक्राउ गरिने

    उपत्यकामा २२ सय बढी प्रहरी परिचालन, लोला हान्नेलाई पक्राउ गरिने

    अनलाइन नेपाल
  • सोमबार, २६ फाल्गुन २०७६
  • 6K
    SHARES

    काठमाडाैं । फागुन शुक्ल पूर्णिमाका दिन मनाउने फागु पर्व यस वर्ष विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण प्रभावित हुने देखिएको छ । सरकारले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदै गएपछि जोखिम कम गर्न भन्दै यसपटकको होलीलाई उत्सवका रूपमा मनाउन निषेध नै गरेको छ।

    कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएकामा होलीका दिनमा समेत यसपटक सामूहिक रूपमा भेला हुने, भीडभाड गर्ने, लोला पानी हान्ने, रङ दल्ने लगायत गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत यस्ता गतिविधि नगर्न आग्रह गरेको थियो ।



    प्रहरीले भने सरकारको निर्देशनको पालना गराउन र होलीका दिनमा हुन सक्ने सम्भावित चुनौती कम गर्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २२ सय बढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाको होली सुरक्षाका लागि तीनै जिल्लामा गरी २२ सय बढी प्रहरी खटाउने भएको हो, जसअनुसार काठमाडौंमा १३ सय, ललितपुरमा ५ सय तथा भक्तपुरमा ४ सय प्रहरी खटिनेछन् । त्यसबाहेक सडकमा ट्राफिक प्रहरीसमेत उल्लेख्य रूपमा परिचालन गरिनेछ । उपत्यकाका तीनै जिल्लामा गरी ६ सय ट्राफिक प्रहरी परिचालन हुनेछन् ।



    महानगरीय प्रहरी प्रमुख (डीआईजी) विश्वराज पोखरेलले सरकार तथा गृह मन्त्रालयबाट समेत कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीका अवसरमा विगतमा जस्तो सामूहिक रूपमा जम्मा हुने, भीडभाड गर्ने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेलगायत कार्य नगर्न आग्रह गरिएकाले प्रहरीका तर्फबाट त्यस्ता गतिविधि नगर्न सबै सर्वसाधारणमा आग्रह गरिएको बताए । ‘यसपटकका लागि होली पर्वलाई उत्सवका रूपमा मनाउन निषेध गरिएको छ, जबर्जस्ती रूपमा रङ दल्ने, लोला पानी हान्ने गरेको पाइए प्रहरीले त्यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले भने ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार