Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास प्रकरण : भाटभटेनीका गुरुङसहित १६ जना छुटे, श्रेष्ठले आज धरौटी बुझाउन सकेनन्

    ललितानिवास प्रकरण : भाटभटेनीका गुरुङसहित १६ जना छुटे, श्रेष्ठले आज धरौटी बुझाउन सकेनन्

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरी हिरासतमा रहेका १७ जनामध्ये १६ जना आइतबार नै धरौटीमा छुटेका छन्।

    काठमाडौं जिल्ला अदालतले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा रिहा गर्न आइतबार दिएको आदेशअनुसार धरौटी बुझाएर छुटेका हुन् ।



    भाटभटेनी सुपर स्टोरका सञ्चालक गुरुङसँग अदालतले सबैभन्दा बढी धरौटी रकम मागेको थियो। उनीसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको थियो। अरुसँग भने अदालतले १ लाख १० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म धरौटी मागेको थियो।



    प्रकरणमा संलग्नताको अभियोगमा हिरासतमा रहेका अरुणकुमार श्रेष्ठ भने धरौटी रकम आजै बुझाउन नसकेर कारागार चलान भएका छन्। अदालतले उनीसँग साढे ७ लाख रुपैयाँ धरौटी मागेको थियो । आइतबार नै यस प्रकरणमा थुनछेक बहस गर्न सकिएको थियो।

    सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवासको १४३ रोपनी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा गएको भन्दै भदौ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।

    यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो । २१ जना प्रतिवादीको भने मृत्यु भइसकेको भन्दै नाम उल्लेख गरी मुद्दा दायर गरेको हो। सिआइबीले यस प्रकरणमा संगठित अपराध कसुरमा अनुसन्धान अघि बढाएको थियो। तर सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्तेमा मात्रै मुद्दा दर्ता गरेको थियो।

    यस प्रकरणमा अदालतमा प्रतिवादीका तर्फबाट ५० जना कानुन व्यवसायीले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए। जवाफी बहसको क्रममा दुई जना सरकारी वकिलले मात्रै बहस गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार