काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबारबाट सुरु भएको सुनुवाइ हिजो हेर्दाहेर्दैमा सकिएको थियो।
सोमबार रिट निवेदक नेकपा एमाले संसदीय दल कोशी प्रदेशका नेता हिक्मतकुमार कार्कीको पक्षबाट बहस सकिएको छ ।आज पुनः रिट निवेदकका विपक्षीहरूको तर्फबाट सुनुवाइ हुनेछ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिट निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।
सोही आदेश अनुसार सोमबार न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ सुरु भएको थियो ।
विपक्षीका तर्फबाट बहस गर्न २० जना कानुन व्यवसायीहरुको सूची रहेको छ । विपक्षीका तर्फबाट सरकारी वकिलहरूको अलावा वरिष्ठ हरिहर दाहाल, प्रेम बहादुर खड्का सुनिल पोख्रेल, विजय मिश्रा, गोविन्द बन्दी, शेरबहादुर केसी, मुक्ति प्रधान यदु खनाल, रमण श्रेष्ठ, खम्ब खाती, लगायतका कानुन व्यवसायीहरूले बहस गर्ने बताईएको छ ।
मुख्यमन्त्री थापा विरुद्धको रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदी रहेको पूर्ण इजलासमा परेको छ । सोमबार रिट निवेदक कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टिकाराम भट्टराई, रमेश बडाल, रविनारायण खनाल, डा।सुरेन्द्र भण्डारी, बाबुराम दाहाल, उषा मल्ल पाठक र अधिवक्ता शान्तिराम खतिवडाले बहस गरेका थिए ।
कोशी प्रदेशसभाका एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङसहितलाई विपक्षी बनाएर भदौ १७ गते रिट निवेदन दर्ता गराएका थिए ।
प्रदेशसभा अध्यक्षता गरेको व्यक्तिले मतदान गर्न नपाउने भए पनि मुख्यमन्त्री थापालाई प्रदेशसभा अध्यक्षता गरेका व्यक्तिले समेत मतदान गरेको भन्दै रिट निवेदनमा यसरी लिइएको विश्वासको मत असंवैधानिक रहेको दाबी गरिएको छ ।
Leave a Reply