काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान विकास केन्द्र पुलचोकका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले लेखा अधिकृत तोरणबहादुर कार्कीविरुद्ध ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले कार्कीविरुद्ध मंगलबार गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । २०५३ जेठ १७ देखि २०७९ मंसिर २८ सम्म कार्कीले आर्जन गरेको सम्पत्ति अनुसन्धान गर्दा वैध आय १ करोड ८ लाख ४८ हजार ५ सय ९० मात्रै देखिएको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई बिगो कायम गरी त्यति नै जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ । सम्पत्ति जफतका लागि अख्तियारले कार्कीकी पत्नी उर्मिला थापा कार्कीलाई समेत प्रतिवादी बनाइएको छ ।
तर अनुसन्धानका क्रममा कार्की उनको परिवारका नाममा ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ । कार्कीले घर निर्माण, जग्गा खरिद तथा विभिन्न कम्पनीमा सेयर लगायतमा स्रोत नखुलेको सम्पत्ति जोडेको पनि भेटिएको थियो ।
अख्तियारका प्रवक्ता भोला दाहालले सार्वजनिक सेवामा रहँदा कार्कीले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएपछि बिगो कैद र जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको बताए ।
Leave a Reply