रसुवा । रसुवा प्रहरीले एक किलो सुनसहित रसुवाबाट एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोसाइकुण्ड गाउँपालिका–३ की ४१ वर्षीया पाछेम तामाङ रहेकी छन्।
तामाङलाई प्रहरीले गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलबाट शनिबार दिउँसो पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय टिमुरे, सशस्त्र प्रहरी बल नेपाल र रसुवा भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेकी उनलाई पक्राउ गरेको थियो ।
जाँच गर्ने क्रममा जुत्ताभित्र लुकाई छिपाई ल्याएको ४ वटा टुक्रामा रहेको सुन फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकी उनीविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply