काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको नाम मुछिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरीको अनुसन्धानबाट सुन तस्कर दावा छिरिङसँग दीपेशको सम्बन्ध रहेको खुलेपछि सुई दीपेशतर्फ सोझिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुन तस्करीमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशमाथि अनुसन्धान शुरु गरेको छ ।
दीपेशको संलग्नता हुन सक्ने शंकास्पद कागजात प्रहरीले केही दिनअघि फेला पारेपछि अनुसन्धान सुरु गरेको सीआइबी स्रोतले बतायो । सुन तस्कर दावाले पूर्वउपराष्ट्रपति पुनको घरमा पुगेर भेटघाट गरेका तथा विभिन्न स्थानमा घुम्न गएका तस्बिर सार्वजनिक भएका थिए ।
पूर्वराष्ट्रपति पुन र उनका छोराहरू जितेन्द्र पुन र दीपेश पुन, बुहारी जुना पुनसँग दावाको बारम्बार भेटघाट भएका भिडियोहरू भेटिएका थिए ।
पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ र तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामाको सुन कारोबारी तथा नेपाली नेताहरूसँगको सम्बन्धबारे अनुसन्धान प्रहरीले गरिहेको छ ।
हालसम्म प्रहरीले सुन तस्करी प्रकरणमा २५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिहेको छ । हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सुन हाल तस्करी प्रकरणबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply