काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुनबारे अनुसन्धान गर्न डीएसपी नेतृत्वको टिमलाई भारत पठाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान गर्न (सीआईबी) ले डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीलाई भारत पठाएको हो ।
डीएसपी भण्डारीको टोली बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको बताइएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) को समन्वयमा सूचना संकलनका लागी भण्डारी नेतृत्वको टिम भारत गएको हो । सुन अनुसन्धान टिममा दिल्ली स्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदी पनि सहभागी छन् ।
हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागी भण्डारी भारत गएको बताइएको छ । यस्तै सीआईबीले सूचना संकलनका लागी केही दिन अगाडि प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको थियो ।
हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । हाल सो बारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।
Leave a Reply