काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने प्रयास भइरहेको बताएका छन् ।
बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताए।
उनले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताए ।
गृहमन्त्री श्रेष्ठले भने, ‘सरकारले अहिले समृद्धिको यात्रालाई तिव्र बनाउने हो भने समृद्धिको प्रक्रियालाई तिव्र बनाउने र फड्कोमा पु¥याउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडी नबढाइ हुँदैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने, ठगिलाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरुलाई कडा कारबाही गर्ने प्रक्रियामा अगाडी बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ ।’
श्रेष्ठले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पारे । उनले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताए । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताए ।
Leave a Reply