काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो ५ दिने चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइए भन्दै चीन भ्रमण रद्ध गरेका हुन् ।
चीनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु नेपालीको संवेदनशीलतामाथि चालेको गलत कदम मान्दै नैतिकताको आधारमा चीन नजाने फेसबुकमार्फत जानकारी दिएका छन् ।
मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘हामी नेपालीले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको थियो ।
मेयर बालेनले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताए ।
चीनको प्राकृतिक स्रोत मन्त्रालयले तयार पारेको नयाँ नक्सा चिनियाँ सरकारी मिडियाले केही दिन अगाडि सार्वजनिक गरेको थियो। उक्त नक्सामा नेपालको नयाँ नक्सा नदेखाइ पुरानै नक्सा देखाइएको छ।
Leave a Reply