काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
संगठित कीर्ते कसुरमा सीआईबीले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको हो ।
सीआईबीले यसमा संलग्न बाँकी २१ जनाको मृत्यु भइसकेकाले सम्पत्तिबाट बिगो भराउन राय दिएको छ । प्रतिवादी २८६ मध्ये ४८ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको छ भने संगठित किर्तेमा २३८ जनालाई प्रतिवादी बनाइएको छ ।
सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभाकान्त ढकाल, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह काठमाडौं-५ का तत्कालीन वडासचिव शिवजी भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले किर्ते र संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो ।
अनुसन्धान सकेर सीआईबीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । हाल जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीले दिएको प्रतिवेदन अध्ययन गरिरहेको छ ।
Leave a Reply