Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • विद्युतकाे पोल ढलेपछि ७ सय घर अन्धकार

    विद्युतकाे पोल ढलेपछि ७ सय घर अन्धकार

    अनलाइन नेपाल
  • शनिबार, १० साउन २०७७
  • 2.7K
    SHARES

    तनहुँ । गत आइतबारदेखि परेको अविरल वर्षात्का कारण विद्युत्‌काे पोल ढलेपछि तनहुँका दुई पालिकाका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा गरी ७०० घरधुरी ६ दिनदेखि अन्धकारमा बस्न बाध्य भएका हुन्।

    दुई पालिकामा पहिरोले करिब २१ वटा विद्युत्‌का पोल ढालेपछि विद्युत् अवरुद्ध हुँदा बन्दीपुर गाउँपालिकमा ५०० र भानुनगरपालिका–१ का २०० घरधुरी अन्धकारमा बस्नुपरेको हो। साजबोटे, कल्याणटार र नयाँबस्तीमा अस्थायीरुपमा विद्युत् सञ्चालनको लागि गाह्रो भएको तनहुँ वितरण केन्द्र डुम्रे शाखाका इञ्चार्ज बेनी नेपालीले जानकारी दिए।



    हाइटेन्सन लाइनका नौ र साना १२ वटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो। उनले भने, ‘सात जनाको प्राविधिक टोली विद्युत् मर्मत कार्यमा खटिएका छौँ।’ विद्युत् अवरुद्ध भएका अधिकांश स्थानमा अस्थायीरुपमा विद्युत् सञ्चालन गरिएको छ। उनले भने, ‘बन्दीपुर–१ नाहालास्थित पृथ्वीराजमार्गमा पहिरो गएका कारणले सामग्री समयमा ढुवानीमा समस्या भएको छ।’



    बिहीबार साँझसम्म अवरुद्ध भएका केही क्षेत्रमा विद्युत् पुनःसञ्चालन गरिए पनि अझै मर्मत गर्नुपर्ने काम बाँकी रहेकाले कर्मचारी खटिइरहेको उनले बताए। त्यसैगरी असार ३१ गते परेको अविरल वर्षाले जिल्लाको म्याग्दे गाउँपालिका, ऋषिङगाउँपालिका र व्यासनगरपालिका ४०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका थिए।

    म्याग्दे गाउँपालिका, ऋषिङगाउँपालिका र व्यासनगरपालिका क्षेत्रका करिब ७५ वटाभन्दा बढी विद्युत्‌का पोल ढाल्ने र बगाउने गरेपछि ती घरपरिवार अन्धकारमा बस्नुपरेको थर्पु नोलाइटका इञ्चार्ज दीपक वाग्लेले जानकारी दिए। उक्त क्षेत्रका अधिकांश स्थानमा मर्मतसम्भार पछि कतिपय स्थानमा हाललाई अस्थायीरुपमा विद्युत् नियमित भइसकेको उनले बताए।

    पहिरोले म्याग्दे गाउँपालिका क्षेत्रमा मात्रै ११ केभी क्षमताको मुख्य लाइनको चौध र शाखा लाइनको १९ वटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको थियो। तनहुँका मुख्य मुख्य क्षेत्रमा केही समय अघि मात्रै छुट्टै फिडर लाइन जडान गरिएकाले दुई/चार वटा पोल ढल्दैमा अन्धकारमा बस्नुपर्ने समस्याको अन्त्य भएको छ। फिडर लाइनले दीर्घकालीन समयको लागि समाधान नगरेपनि करिब चार/पाँच दिन धान्ने गरी छुट्टै फिडर जडान गरिएको विद्युत् प्राधिकरण कार्यालय तनहुँका प्रमुख कपिलराज पाण्डेले बताए।

    जिल्लाको कुनै क्षेत्रमा पोल ढल्यो भने विद्युत् अवरुद्ध भई त्यसको असर सबै क्षेत्रमा पर्न जाने हुँदा दमौलीलगायतका मुख्य क्षेत्रमा छुट्टै फिडर जडान गरिएको उनले बताए। बाढी पहिरोका कारण तनहुँको विद्युत् क्षेत्रमा करिब रु डेढ करोड बराबरको क्षति भएको विद्युत् प्राधिकरण कार्यालय तनहुँले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार