चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोका कारण गए रातिदेखि अवरुद्ध बनेपछि चितवनका सिडीओ भुपेन्द्र थापा आफै फिल्डमा खटिएका छन् । सोमबार राति ८ बजे मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुल नजिकै खसेको पहिरोको कारण सडक अवरुद्ध भएपछि सिडीओ थापा बिहानै त्यहाँ पुगेका हुन् ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राज कुमार तामाङ, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र सडक डिभिजनका प्राविधिक सहितको टोली लिएर उनी बिहान ५ बजे पहिरो गएको ठाउँमा पुगेका छन् ।
सोमबार मात्रै कार्यसभार सम्हालेका प्रमुख जिल्ला अधिकारी थापा पहिरो पञ्छाउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको हौसला बढाउन फिल्डमा पुगेको बताइएको छ ।
सिडीओ थापाले भने, ‘हामी भनेको जनताको सेवक हौँ, विपतमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीहरुको हौसला बढाउन म आफै फिल्डमा खटिएको हुँ । जनताको सेवाको लागि रातदिन खट्ने गरेको छु ।’
पूर्णरूपमा पहिरो पन्छाउन अझै समय लाग्ने बताइएको छ । सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम भइरहेको छ । मुग्लिन–नारायणगढ सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई आज वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
Leave a Reply