मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार नै विश्वासको मत लिने भएका छन् । प्रदेशकी उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि कोशी प्रदेशसभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले बैठक सञ्चालन गर्ने भएका छन् ।
उपसभामुख दनुवार र अध्यक्षमण्डलका सदस्यद्वय एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेशसभा बैठक बस्ने भएको हो । उपसभामुख दनुवार पनि मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर काठमाडौं गएकी हुन् ।
कार्यव्यवस्था समितिको बैठकमा मुख्यमन्त्री थापाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए । प्रमुख सचेतक राईका अनुसार अध्यक्षता गर्ने मन्सुरीले समेत गठबन्धनका पक्षमा मत हाल्नेछन् । मन्सुरीको मतसहित आफूहरूले प्रदेशसभामा बहुमत सिद्ध गर्ने राईले दाबी गरे ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले पनि प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत रहेको र आइतबार सबै मत मुख्यमन्त्रीको पक्षमा खस्ने बताए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । तर एमालेबाट निर्वाचित उपसभामुख सृजना दनुवार काठमाडौं जाने भएपछि प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यको रुपमा सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले गर्नुपर्ने भएको छ ।
प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेशसभामा कुनै प्रस्तावमाथि मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने मत पनि छ । तर, सत्ता गठबन्धनले भने सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मुख्यमन्त्रीको पक्षमा मतदान गराउन लागेको हो ।
Leave a Reply