काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै दिन नटिक्ने बताएका छन् ।
शनिबार भक्तपुर क्षेत्र नम्बर २ ले गरेको क्षेत्रीय सभामा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
नेता कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरे ।
नेता कोइरालाले भने, ‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि हामीहरुले, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु । यो अत्यन्त गम्भिर विषय छ ।’
त्यस्तै, नेता कोइरालाले सुन काण्डको विषयमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । उनले राजनीतिमा प्रतिशोध राख्ने प्रवृत्ति भित्रिए त्यसले व्यक्ति, पार्टी र देशलाई समेत क्षति पुर्याउने बताए ।
नेता कोइरालाले भने ,‘सुन काण्डका विषयमा नेपाली कांग्रेसकै एक सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभयो । उहाँका गल्ती कमजोरीहरू होलान्, त्यसको छानबिन र कारबाही हुनुपर्छ । तर प्रतिशोधको भावनाले अघि बढ्ने हो भने हामीले देशलाई कहाँ पुर्याउन खोजिएको हो ? यो अहिले गम्भीर विषय हो जस्तो लागिरहेको छ ।’
नेता कोइरालाले शर्माले कुनै गलत गरेको भए त्यसको छानबिन र कारबाही हुनुपर्ने तर खुलेआम प्रतिशोध राखेर कुनै कारबाही गर्न नमिल्ने बताए । नेता कोइरालाले सुन काण्ड बाहिरिएपछि बाँकी सबै काण्डहरू ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै आशंका व्यक्त गरे ।
Leave a Reply