काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न खोजिएको बताएका छन् । १०० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङ माओवादीका नेता वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती मगरसँगै बसेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला उपमहासचिव पुनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक पुर्वाग्रहका आधारमा आफूलाई मुछेर गलत प्रचार भइरहेको बताए । उपमहासचिव पुनले अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले जोडेर गरिएको प्रचार गरिएको बताए ।
‘जनयुद्धका सहिद परिवार, रोल्पाकी चेली, पार्टी कार्यकर्ता अमला रोकासँग पारिवारिक भेटघाटको सन्दर्भमा ८ वर्ष पहिला नै सार्वजनिक भइसकेको तस्बिरलाई अहिले मसँग जोडेर गरिएको प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’ पुनले फेसबुकमार्फत भनेका छन्,‘सरकारले चालेको सुशासनको मुद्दालाई विषयान्तर गर्न गरिएको यस्ता गलत प्रचारको खण्डन गर्दै सुन तस्करीको निस्पक्ष छानविनको म पूर्णरूपमा समर्थन गर्दछु। राजनीतिक पुर्वाग्रहका आधारमा गरिएको यस्तो गलत प्रचारको भ्रममा नपर्न म सबैसँग हार्दिक आग्रह गर्दछु।’
आइतबार राजस्व अनुसन्धान विभागको टोलीले झण्डै १०० किलो सुन तस्करी प्रकरणमा ठमेलको होटल भियनामा छापा मारेपछि बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेपछि छिरिङको कनेक्सनमा रहेका माओवादी केन्द्रका उच्च तहका नेताहरुसँग देखिएको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक भएका छन् ।
तिब्बती मूलका वेल्जियमका नागरिक छिरिङले रोल्पाकी अमला रोकासँग बिहे गरेका छन् । दावा ठमेलस्थित भियना होटलका मालिकसमेत हुन् । अमला माओवादी केन्द्रका उपमहासचिव पुन र ओनसरी घर्तीसँग पारिवारिक सम्बन्ध भएकी व्यक्ति हुन् ।
Leave a Reply