गुजरात । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय छलफल भएको छ ।
बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।
दुवै अर्थमन्त्रीले नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न जोड दिएका छन्।
भारतका अर्थमन्त्री सितारामणले एन पीएचएल र भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेडबीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन आग्रह गरिन् ।
जवाफमा अर्थमन्त्री महतले उक्त समझदारी छिट्टै कार्यान्वयनमा लैजानेगरी संयन्त्र स्थापना गर्ने बताए । साथै नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यवसायिक सम्भाव्यता एवम् पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत आग्रह गरे।
Leave a Reply