काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताएका छन् ।
शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।महामन्त्री शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति कटाक्ष गरे ।
महामन्त्री शर्माले भने,‘अब पुराना दलका दिन गए, अब नयाँ आए भन्दै गर्दा तिनीहरूले बिर्सिएका छन्, यो धर्ती पनि पुरानो हो। हाम्रा धर्मशास्त्र, संस्कृतिहरू पनि पुराना हुन्। यो देश आफैंमा पनि पुरानो हो । पुरानो नाता सम्बन्धहरूलाई तोडिराखेर नयाँ नयाँ भनिराखेर बग्दै गरेको खहरेबाट बिजुली निकाल्न सकिँदैन। हामीले बिर्सिनु हुँदैन। निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्नेकुरा हामीले बिर्सिनु हुँदैन।’
उनले पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरुले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए।
निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत् उत्पादन गर्न सक्छ भन्ने कुरा नबिर्सिन नयाँ राजनीतिक दलहरूसँग आग्रह गर्दै महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको बताए ।
उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउने क्रम शुरु हुने बताए ।
Leave a Reply