काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश बर्वाद हुँदै गएको भन्दै जीवनको सार्थकता र मूल्यबोध गर्न आवश्यक रहेको बताएका छन् ।
भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले भने, ‘जीवनको सार्थकता र मूल्यबोध गराउने कुरामा मनन गर्न आवश्यक छ । हामी व्यक्तिगत स्वार्थमा केन्द्रित हुने र व्यक्तिगत रुपमा कसरी सुविधायुक्त जीवन विताउने भन्ने कुरामा मात्र केन्द्रित हुँदा हाम्रो देश बर्वाद हुने खतरा र आफ्नो जीवन पनि ध्वस्त हुने खतरा हुन्छ ।’
देश समाज र आफ्नो जीवनलाई बचाउँने हो भने नेपाली हुनुको सार्थकतालाई बोध गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसको लागि भानुभक्तबाट सिक्नुपर्ने उनको भनाइ छ ।
उनले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि आचार्यको विशिष्ट योगदान रहेको बताए ।
सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्नेमा जोड दिए ।
Leave a Reply