काठमाडौं । ललितपुरका विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुराउन जाने महिलाहरूले लगाएको सिक्री लुटपाट गर्ने तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लोलिनकाजी महर्जन, रविन्द्र महर्जन र रोहन नेपाली रहेको प्रहरीले जनाएको छ ।
ललितपुरमा असार १७ देखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सीसीटीभी फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरी लुटपाट गरेको देखिएको र तीनजनालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।
उनका अनुसार लोलिनकाजी महर्जन मुख्य लुटेरा हुन् । मोटरसाइकलबाट झरेर लुट्ने र स्ट्याण्डबाई राखिएको मोटरसाइकल–स्कुटरमा चढेर भाग्ने उनीहरूको अपराध शैली देखिएको एसएसपी शाहले जानकारी दिए । रवीन्द्र शाक्य र रोहन नेपाली राइडर हुन् ।
घटनाको मुख्य योजनाकार लोलिनकाजी महर्जन यसअघि पछि चोरी र लागुऔषध मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ । आरोपीतहरुविरुद्ध चोरी र लुटपाट मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
Leave a Reply